रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढ्यो : एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ भित्रियो
काठमाण्डौ । रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रकाशित गरेको छ ।
प्रकाशित प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गएको आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेको छ । यो सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।
यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै १२ महिनाको तथ्यांकका आधारमा सरकार महंगी नियन्त्रणमा असफल देखिएको छ । गत आर्थिक वर्ष मुलुकले ८ प्रतिशत नजिकको महंगीको सामना गरेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ सञ्चिति छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७९/ ८० मा चालू खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।