वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै
काठमाण्डौ। वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ ।
नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ ।
प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
नेपाल आज हारेमा प्यालेस्टाइन समूह विजेता बन्नेछ भने नेपाललाई बराबरी नै पर्याप्त हुनेछ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० गोलले हराउँदै ६ अङ्क जोडेको छ ।
इराकसँगको खेलमा पाँच गोल गोल गरेकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट ५० गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा पुगेको हो । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।