लिङ्देनको चेतावनी : राप्रपाका मागलाई उपेक्षा गरे विद्रोहमा परिणत हुन्छ
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिनु भएको छ ।
बुधबार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उहाँले औपचारिक रुपमा जनदबाबका कार्यक्रम शुरु गरेको बताउनु भएको हो । उहाँले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताउनु भयो ।
उहाँले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गर्नुभएको हो । उहाँले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताउनु भयो ।
उहाँले अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताउनु भयो ।
उहाँले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताउनु भयो । उहाँले राप्रपाका मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको उल्लेख गर्नुभयो ।