टिआरसी पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनु पर्‍याे: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रि सभा निर्वाचनमा एक्लिनुपरेको बताउनु भएको छ ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबीसमेत गर्नूभएको हो ।

उहाँले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भएको छ । उहाँले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिरसमेत गर्नुभएको हो । अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउनु भएको छ । साथै उहाँले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गर्नू भएको हो ।

यसैगरी, अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रूपमा असफल भएको बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रूपमा असफल भएको दाबी गर्नुभएको हो । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको पनि बताउनु भयो ।