असफलसिद्ध व्यक्ति त्रिविको उपकुलपति नियुक्त हुँदैछन् : अध्यक्ष ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो ।

आज (सोमबार) काठमाण्डौमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा बोल्दै अध्यक्ष ओलीले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसकै काम गर्न पनि पछि नपरेको दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोप समेत लगाउनुभयो । उहाँले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बद्नाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभयो ।