त्रिविमा उपकुलपति नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
उपकुलपतिका लागि प्रा. डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस भएको हो ।
सहकुलपति समेत रहनुभएका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ’सर्टलिस्ट’ मा १४ जना परेका थिए । तीमध्ये तीन जनाको नाम कुलपति समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई हिजो (आइतबार) सिफारिस गरिएको हो ।
चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुनुहुन्छ भने, केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुनुहुन्छ ।