एमालेको मध्यपहाडी संकल्प यात्रामा आफ्नो पनि स्वामित्व रहेको प्रधानमन्त्रीको दाबी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले गरेको मध्यपहाडी लोकमार्गमा संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताउनुभएको छ । आज (आइतबार) प्रतिनिधिसभाको रोस्टममा उभिएर उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा रेखांकन भएको लोकमार्गमा एमालेले संकल्प यात्रा गर्नाले स्वामित्व स्थापित हुने उल्लेख गर्नुभयो ।

एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापश्चात आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयन कसरी भइरहेको छ भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू सोे विषयमा गहन भएको जानकारी दिनुभयो ।

“प्रतिवेदन बुझ्दै मैले मेरो पनि केही न केही स्वामित्व छ भनेको थिए । यातायात सन्जाललाई जोडेर आर्थिक सामाजिक सांस्कृतिक सन्तुलित विकास गर्ने मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा रेखांकन प्रस्ताव पारित गरिएको थियो । त्यहाँ नेकपा (एमाले) नेतृत्वको यात्रा कही न कही म छु भन्ने हो,” उहाँले भन्नुभयो ।

साथै सो आयोजना बनाउन १० वटा नयाँ सहर निर्माणदेखि आर्थिक, सामाजिक, पर्यटकीय, शैक्षिक, कृषिलगायत क्षेत्रको विकासमा आफू लागिपरेको पनि उहाँले बताउनुभयो । यी विषयहरू आगामी वर्षको नीति कार्यक्रम र बजेटमा पनि समावेश गरिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।