बालकुमारी घटना : मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पदबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ।
दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनामा प्रमुख दोषी मन्त्री ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन बुझाएपछि एमालेले उनलाई मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको भन्दै बर्खास्तीको माग गरेको हो।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन्। बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालेपछि एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बस्ने छुट नभएको स्पष्ट पारे। ‘एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन, तत्काल उहाँलाइ मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ। ’
उनले दोषी मन्त्रीलाई चाँहि उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउँदा न्याय नहुने धारणा राखे। उनले फेसबुकमार्फत भनेका छन्,‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अवस्था रहँदैन। त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घण्टे परीक्षामा पर्नुभएको छ। हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ।’
घटनाको दिन मन्त्री ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकलाई लगेकोकाले पनि उक्त घटनामा सजगता अपनाउन नसकेको आयोगको ठहर छ।
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ । पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो। उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्)ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।
उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

