संसद्को अवरोधका बारेमा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच छलफल : सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने ओलिको अडान
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसद्को अवरोधका बारेमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले संसद्को गतिरोध खुलाउन चासो दिँदै एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो । राष्ट्रपतिको आमन्त्रणमा ओली शीतल निवास पुग्नुभएको थियो ।
भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा नागरिकमा नैराश्यता बढ्ने र संसद्प्रति नै नागरिकमा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
यस्तै अध्यक्ष ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको बताउनुभएको छ । उहाँले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताउनुभएको हो ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने एमालेले माग गर्दै आएको छ ।