पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ ।

बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा शिवलाल भुसालले गर्नु भएको हो।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट शुरु भएको छ।

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाउँ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताउनु भयो ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् । त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।