ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई आज र भोलि निमोनियाविरुद्धको खोप लगाउने
काठमाण्डौ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप अभियान आज र भोलि सञ्चालन गर्न लागेको छ ।
जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाको जोखिमबाट बचाउनको लागि निमोनिया विरुद्धको खोप दिन लागेको महानगरकी स्वास्थ्य शाखाकी प्रमुख सरिता महर्जनले बताउनुभयो ।
वडामा दर्ता भएका ७२ वर्ष माथिका ज्येष्ठ नागरिकले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउने अवसर पाउनेछन् । उहाँका अनुसार यो वर्ष २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी भएको छ । आज वडा नम्बर ४, १३, १४, १५, १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा खाेप दिने उहाँले बताउनु भयो ।
त्यस्तै भोलि वडा नम्बर १, २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९ र २० मा खोप दिइनेछ । सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लिन सकिने स्वास्थ्य शाखाकी प्रमुख महर्जनले बताउनु भयो ।
२०७७ सालदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क दिन शुरु गरिएको यो खोप गएको वर्षसम्ममा ५ हजार २ सय ५६ जनालाई दिइसकिएकाे छ । ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो ।