राज्य जोगाउने नाउँमा सत्ता कब्जा गर्न मात्रै जनयुद्ध भएको एमाले अध्यक्ष ओलीको आरोप
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।
आज (मंगलबार) काठमाण्डौमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताउनुभयो । उहाँले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गर्नुभयो । उहाँले हिंसा किन गरेको थियो भन्ने कुरा हालसम्म पनि पुष्टि गर्न नसकेको बताउनुभयो । उहाँले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद् भएको बताउनुभयो ।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताउनुभयो । उहाँले हिंसा मच्चाउनेहरु सरकारमा पुगेर शासक भइसक्दासमेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज ट्रान्ज्सिनल जस्टिसको कुरा छ । ट्रान्ज्सिनल जस्टिस १८ वर्षसम्म नटुंगिएर यत्तिकै पर सारेर बस्नु हुने कुरा हो ? पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके। १८ वर्षअघि शासक भइसके। पीडित जस्ताको त्यस्तै ।’
त्यस्तै, अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै लोकतन्त्र कांग्रेसलाई मात्रै आएको बताउनुभयो । उहाँले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा रहेको बेलामा किन शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै आलोचना गर्नुभयो ।