बिपी प्रतिष्ठानमा ६ दिनदेखि विद्यार्थीहरु रिले अनशनमा

काठमाण्डौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी पढाई सुचारुको माग गर्दै रिले अनशनमा बसेका छन् ।

“विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा” भन्ने नारा सहित गत ६ दिनदेखि विद्यार्थीले पूर्ण क्षमतामा पठनपाठन र परीक्षा सञ्चालनका गतिविधि यथाशीघ्र सञ्चालन गरेर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै रिले अनशनमा बस्दै आएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.ओम शान्ति रजतले बताउनुभयो ।

गत २४ दिनदेखि शिक्षक, कर्मचारी र चिकित्सक बढुवा प्रक्रियाको माग गर्दै बिपी प्रतिष्ठानमा पठनपाठन अवरुद्ध गर्दै आएपछि बिपी प्रतिष्ठानका विद्यार्थीले विद्यार्थीले पढ्न पाउनुपर्ने माग राख्दै बाध्य भएर रिले अनशनमा बसेको बताउनुभयो ।

पछिल्लो समय बिपी प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीको बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै आन्दोलनरत भइरहेकोमा गत कार्तिक २० गते धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहबरमा पुस २ गते सुरु गरेर १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिएर बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो ।

उक्त समय बितिसक्दा सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि गत २४ दिनदेखि करिब १५ वर्षदेखि रोकिएको आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न दबाब दिन पठन पाठन बन्द गरी शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आन्दोलित भएको छ ।

बिपी प्रतिष्ठानका शिक्षक, चिकित्सक र कर्मचारीहरूको बढुवा प्रक्रियाको माग जायज भए पनि यसको प्रत्यक्ष असर विद्यार्थीमा परेको अध्यक्ष डा.रजतले बताउनुभयो ।

२४ सै घण्टा रिले अनशनमा बस्दा चार जना विद्यार्थीहरू बिरामी समेत परेर उपचार भइरहेको अध्यक्ष डा.रजतले बताउनुभयो। यसरी पनि हाम्रो सुनुवाइ नभए आमरण अनशन बस्ने उहाँले बताउनुभयो ।

बिपी प्रतिष्ठानको समस्या प्रधानमन्त्री र मुख्यसचिवले दुई साताअघि नै कार्यकारिणी समितिको बैठक राखेर शिक्षक र कर्मचारीको माग सम्बोधन गरी सञ्चालक परिषद् (सिनेट) बैठकको मिति तोक्नु भन्दै निर्देशन दिए पनि सफल भएको छैन ।