मौसम खबर : काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्यो

काठमाण्डौ ।  हाल नेपालमा मनसुनको न्यूनचापीय प्रणालीको प्रभाव कमजोर भई धेरै ठाउँमा घाम लागेको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा गएको शुक्रवार रातिदेखि देशभर वर्षा भएको थियो । आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यस्तै आज दिउँसो प्रदेश–२ बाहेकका प्रदेशमा पानी पर्ने सम्भावना रहेको नगरकोटीले जानकारी दिनु भएको छ । प्रदेश–१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् नगरकोटीले  बताउनुभयो ।

गएको वैशाख १ गतेदेखि अहिलेसम्म बाढी पहिरो तथा हुरीबतासका कारण ५२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ३९, बाढीमा ११ तथा हुरीबतास र भारी वर्षाका कारण एक/ एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।