डीआईजी चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयद्वारा अस्वीकृत
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले दिएको राजीनामा प्रहरी प्रधानकार्यालयले फिर्ता गरिदिएको छ ।
स्रोतका अनुसार राजीनामाको प्रक्रिया नपुगेको भन्दै प्रधानकार्यालयले डीआईजी चन्दको राजीनामा स्वीकृत नगरी फिर्ता पठाएको हो । डीआईजी चन्दले व्यक्तिगत कारण देखाउँदै शनिबार पदबाट राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले चन्दलाई राजीनामा फिर्ता लिन सुझाव दिएको बुझिएको छ । आईजीपी कुँवरको सुझावपछि उनी केही दिन बिदा बसेको स्रोतको भनाइ छ ।
उहाँलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । उहाँको कार्यकाल ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म छ । केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो । यद्यपि, उक्त घटनाका कारण आफूले राजीनामा नदिएको उहाँले बताउनुभएको थियो ।
विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको थियो ।

