नेकपा एमाले काठमाडौँ  जिल्ला कमिटीले आज टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्दै

काठमाण्डौ।  ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा एमालेको काठमाडौँ  जिल्ला कमिटीले आज शनिबार काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्दै छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ ।

हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने छ। एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताउनु भएको छ।

एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बिच पार्टीलाई निरन्तर परिचालन गरिने बताउनुु भएको छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।