अरुण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

काठमाण्डौ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता कारखानाको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।

शुक्रबार सिआइबीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो ।
सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको बताउनु भएको छ ।

उहाँले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको बताउनु भएको छ । उहाँले बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रश्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भए पनि लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले शेयर खरिद गरेको देखिएको बताउनु भएको हो ।

उहाँले चौधरीले २०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेड च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालीन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताउनु भयो ।
उहाँले त्यसपछि च्याम्पियन फुटवेयर प्रा.लि.को नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रा.लि. राखिएको बताउनु भयो । बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भए पनि त्यस्तो नभएको देखिएको बताउनु भयो ।

उहाँले २४ प्रतिशत सर्वसाधरणको लागि जारी गर्ने भनिएको शेयर पनि कतै जारी नभएको बताउनु भयो । उहाँले बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्याङ्कनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको बताउनु भयो । उहाँले च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको दाबी गर्नुभएको छ ।