ललितपुर महानगरपालिकाको ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’, २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने
काठमाण्डौ । ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ ।
आज (बिहीबार) एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गर्नुभएको हो ।
एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ । यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ । गुनासोहरूलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रबन्ध गरिएको छ ।
त्यस्तै, सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नगरप्रमुख महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ। त्यस्तै, बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडकबत्ती, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ ।