पश्चिमका धेरै ठाउँमा हल्का वर्षा, काठमाण्डौसहितका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना

काठमाण्डौ । आज सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । बिहान दिपायलमा सबैभन्दा धेरै ११ दशमलव ३ मिलिमिटर पानी परेको छ ।

यस्तै डडेलधुरामा ९, धनगढीमा ६ दशमलव ५, वीरेन्द्रनगरमा ४ दशमलव २, जुम्लामा २ दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले तीनवटा प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार आज बेलुकीसम्म काठमाण्डौसहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि हलका पानी पर्ने सम्भावना छ ।

तर, मधेश प्रदेश र कोशी प्रदेशका तराई भेगमा भने तत्काल पानी पर्ने सम्भावना नदेखिएको उहाँले बताउनुुभयो । अस्ति पश्चिमबाट भित्रिएको पश्चिमी वायुको प्रभाव आज रातीसम्म रहने र फेरि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको पनि उहाँको भनाइ छ । मध्य तथा पूर्वी तराईका थोरै ठाउँहरुमा बिहानपख हुस्सु लागेको र अब धेरै ठाउँमा हुस्सु हट्दै जाने महाशाखाले जनाएको छ ।