डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो : ७४ जिल्लामा सङ्क्रमण पुष्टि

काठमाण्डौ । देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

हालसम्म १० हजार ७ सय २६ जनालाई डेङ्गी सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । साथै डेङ्गी सङ्क्रमणबाट ७ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार सुनसरीमा सबै भन्द धेरै ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ । त्यसै गरि मोरङमा १ हजार ३ सय ४४, धादिङमा १ हजार २७ जना, कास्कीमा २ सय २५ जना, धनकुटामा २ सय २३, दार्चुलामा १ सय ९२ जना, झापामा १ सय ८२, काठमाण्डौमा १ सय ५१, सङ्खुवासभामा १ सय ४८ जना र तनहुँमा ७९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको महाशाखाकाको तथ्याङ्कले देखाएको छ ।

यो सँगै सङ्क्रमण ७४ जिल्लामा फैलि सकेको महाशाखाले बताएको छ । लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले बताउनु भएको छ । यसैगरी डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा सङ्क्रमितको सङ्ख्या उच्च हुने उहाँले बताउनुभयो ।

सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने र ती फुलबाट लार्भा निस्कन्छन् । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्नुका साथै लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि आग्रह गरेको छ ।