संसद्मा बोल्दा कहिलेकाहीँ ‘अनकन्ट्रोल मिसाइल’ धेरै हानेछु : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताउनुभएको छ । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उहाँकोे भनाइ छ ।
उहाँले बताउनुभयो, ‘मैले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु । तर, अहिले आएर मलाई अलि बोध हुँदैछ । सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ । म यति निस्फिक्रीसाथ अनकन्ट्रोल मिसाइल जस्तै । मैले ड्याङ ड्याङ मिसाइल हान्दिने हो । त्यसको अर्थ सावधानीको कमी हो तर विचारमा त्रुटी होइन । मिसाइल मैले ठीक ठाउँमा ताकेर हानेको छु, तर एउटा हान्दा पुग्ने ठाउँमा कतिलेकाहिँ पाँच सातवटा हानेको छु ।’
अध्यक्ष ओलीले देश सही नीति र व्यवहारबाट अघि बढ्ने बताउनुभयो । राजनीतिक परिवर्तनलाई सही दिशा दिएर जनताको साथ लिएर अगाडि बढ्न नसके निराशा बढ्ने पनि बताउनुभयो ।