उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन
काठमाण्डौ । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघात भएर निधन भएको छ ।
आज (मङ्गलबार) बिहान ९ बजे घरमा बसिरहेका बेला स्वास्थयमा समस्या आएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा बिहान १० बजे उहाँको निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो । ५६ वर्षीय न्यायाधीश मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर हुनुभएको थियो ।
२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिनुभएका उहाँ २०५० साउन १ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त हुनुभएको थियो ।
काठमाण्डौको कलंकीमा बस्दै आउनुभएका मरासिनी आज बिहान पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला उहाँको स्वास्थ्यमा अचानक समस्या आएको पारिवारिक श्रोतले जनाएको छ ।