उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट हुनुपर्नेमा उद्योगमन्त्री रिजालको जोड

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभएको छ ।

आज (सोमबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँगको छलफलका क्रममा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले उपभोग्य वस्तुहरूको ब्राण्डिङ र लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभयो । वस्तुहरूको म्याद नाघ्ने मिति ठुल्ठुला अक्षरमा स्पष्ट रूपमा हुनुपर्ने बताउनु भयो । उहाँले बजार अनुगमनमा स्थानीय तहको सहभागिता हुने भन्दै सजायको सन्दर्भमा पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सजायको मात्रा तोक्दा राम्रो हुने धारणा राख्नुभयो । उहाँले साना स्तरका घुम्ती व्यवसायहरू स्थानीय तहले गर्दा गर्न सक्ने बताउनुभयो ।

मन्त्री रिजालले उद्योग दर्ता, खाद्य प्रशोधन, बजार अनुगमन र उत्पादित वस्तुहरूको गुणस्तर नियमनको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका बिचमा समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।