स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै एमालेले बुझायो ज्ञापनपत्र

काठमाण्डौ । नेकपा (एमाले) गुल्मीले स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका दुई नगर र १० पालिकासहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय तहमा असल अभ्यासलाई निरन्तरता दिन र जनताको समस्यालाई समाधान गर्न ज्ञापनपत्र बुझाएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो । त्यस्तै, गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारवाहीका सम्बन्धमा एमालेको गम्भीर ध्यानाकर्षण भएको सो दलले जनाएको छ । विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, कमजोर गुणस्तर सच्याउन आग्रह गरिएको श्रीपालीले बताउनुभयो ।

सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा सामग्री खरिद गर्दा हुने चलखेललाई सच्चाउन एमाले गुल्मीले आग्रह गरेको छ ।

गुल्मीमा एमालेले तीन, माओवादीले चार र काँग्रेसले पाँच स्थानीय तहमा नेतृत्व गरेको छ । एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषणा गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला, सबै पालिका र सम्पर्क मन्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडास्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रुपमा घोषणा गरिएको जिल्ला सचिव गण्ेश श्रीपालीले जानकारी दिनुभयो ।