छानबिन समिति गठन नभएसम्म बैठक चल्न नसक्ने एमालेको अडान कायमै : प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन
काठमाण्डौ । नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको मागलाई जारी राखेको छ ।
आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै नाराबाजी गरेको छ । एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैठकको सुरुआतमै समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताउनु भएको थियो ।
उहाँ बोल्दा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपश्चात् एमालेले वेल घेराउ गर्दै नाराबाजी गरेको होे ।
बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिनु भएको हो । आजको बैठक नौ मिनेट मात्र चल्यो ।
हिजो मंगलबारको बैठकमा यो घटनामा सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनु भएको थियो । तर, जवाफमा समिति गठनको विषय नआएको भन्दै बैठक चल्न नदिने एमालेले बताइसकेको छ ।