देशको न्यायप्रणाली प्रभावकारी भएन : केपी शर्मा ओली
काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको न्यायप्रणाली प्रभावकारी नभएको बताउनुभएको छ ।
आज (आइतबार) काठमाण्डौमा आयोजित कार्यक्रममा एसिड (तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै उहाँले नेपालको न्याय प्रणाली दोषी भएपनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्यायप्रणाली प्रभावकारी नभएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो । मानव विरुद्धको जघन्य अपराधमा सोझै सत्ता दुरुपयोग गरेर माफी दिने काम भइरहेको छ । त्यसैले यतिबेला उठिरहेको प्रश्न भनेको हाम्रो न्याय प्रणालीमाथि हो ।’
अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्रीसँग भेटेर एउटा एजेण्डाको रूपमा नै छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रावधान बनाएर मात्र एसिड विक्री वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एसिड पीडितहरूको बारेमा प्रधानमन्त्रीसँग भेटेर कुरा गर्नेछु । एउटा एजेण्डाको रुपमा नै छलफल गर्नेछु । एसिडको उपलब्धता नै हुनुहुँदैन भन्ने होइन् तर कसले के प्रयोजनको लागि किन्ने र कति मात्रा प्रयोग गर्ने र बाँकी रहेको फिर्ता गर्नेसहित प्रावधान बनाएर विक्री गर्न आवश्यक छ । यो प्रतिनिधिसभाको छलफलको विषय बन्छ ।’
एउटा निर्दोषलाई चाहीं फसाइदिने र दोषीलाई चाहीँ उम्क्याइदिने काम भइरहेको उहाँले आरोप लगाउनुभयो । एसिडआक्रमणबाट पीडित किशोरी र महिलाहरुका पीडा र जीवन कथालाई समेटर निर्माण हुन लागेको चलचित्रमा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनुहुनेछ । निर्माता रमित ढुंगाना लगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गर्नुभएको हो ।