गाजामा सहयोग गर्दै आएको राष्ट्रसङ्घीय निकायलाई दिँदै आएको सहयोग बेलायतले पनि रोक्यो

बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७ मा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पनि संलग्न रहेको आरोप लागेपछि बेलायतले सहयोग रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको हो । बेलायतले इजरायलले लगाएको आरोपबाट स्तब्ध भएको भन्दै आरोप माथि अनुसन्धान पूरा नहुन्जेल सहयोग रोक्ने बताएको हो ।

अमेरिका, अष्ट्रेलिया, इटाली र क्यानडाले यसअघि नै संयुक्त राष्ट्रसंघको यूएनआरडब्ल्यूएलाई दिने सहयोग रोक्ने घोषणा गरिसकेका छन् । अहिले आयरल्याण्ड र नर्वेले मात्रै सहयोगलाई निरन्तरता दिएका छन् ।

अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । गाजामा विस्थापित भएका झण्डै २० लाख मानिस यूएनआरडब्ल्यूएको सहयोगमा निर्भर रहेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।