बिआरआइबाट प्रशस्त लाभ लिन सरकार तत्पर हुनुपर्छ : महासचिव पोखरेल

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ ।

आज (आइतबार) काठमाण्डौमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा महासचिव पोखरेलले बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेको बताउनुभयो ।

उहाँले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको बताउनुभयो । उहाँले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेकोे जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षीय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न पनि आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्न तथा सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षीय सम्बन्धलाई फराकिलो बनाउने बताउनु भयो । उहाँले चिनियाँ प्रतिवद्धताका कार्यक्रमहरु छिटो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको बताउनुभयो ।