मौसम खबर : बागमती, गण्डकी र लुम्बिनीमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा
काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभावका जारी छ । साथै मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेकोले वर्षा भइरहेको छ ।
अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ । साथै आज अस्तिराति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।
यस्तै आज राती भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको नगरकोटीले बताउनु भएको छ ।
साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको उहाँको भनाई छ । सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।