लागुऔषध कारोबारीलाई हिरासतबाट भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

काठमाण्डौ । लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ परेका छन् ।

२०६४ सालमा हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका भारतीय अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यति बेला अशरफसँग १ करोड रुपैयाँ मागेका थिए । पछि १० लाख रुपैयाँमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए ।

भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई छ लाख २५ हजार रुपैयाँ मात्रै दिएका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो । प्रहरीले यादवलाई बिहीवार काँकडभिट्टाबाट पक्राउ गरी काठमाण्डौ ल्याएको हो ।