दादुरा–रुवेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि लगाइने

काठमाण्डौ ।  सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइनेछ ।

जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँले बताउनु भयो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको  बताउनु भयो ।। दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ ।