प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित
काठमाण्डौ । प्रतिनिधिसभा बैठकको अवरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ । तर सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ । एमालेको अडानका कारण संसदमा गतिरोध कायम भएपछि संसद सुचारु गराउन भन्दै सभामुख देवराज घिमिरेले पहल गर्नुभएको थियो ।
बिहान उहाँले प्रधानमन्त्री, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुबीच सिंहदरबारमा छलफल राखेपनि दुबै पक्ष आफ्नो अडानमा कायम रहेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न सकेन ।
सिंहदरबारमा सहमति नजुटेपछि साढे २ बजे निस्किएका प्रधानमन्त्री सहितका मुख्य नेताहरु साढे ३ बजेपछि नयाँ बानेश्वरमा छलफलमा बसेका थिए । सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न नसकेको हो ।