किसानका समस्या सम्बोधन गर्न राष्ट्रिय किसान सञ्जालको आग्रह : सरकारसँग ११ बुँदे माग

काठमाडौं  । राष्ट्रिय किसान सञ्जालले किसानका समस्या समाधान गर्न सरकारसँग ११ बुँदे माग राख्दै तत्काल प्रभावकारी सम्बोधन गर्न आग्रह गरेको छ ।

सञ्जालले आज प्रेस सम्मेलन गर्दै कृषि सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि उपजको न्यूनतम समर्थन मूल्य र खरिदको सुनिश्चितता, किसानलाई राहत तथा क्षतिपूर्ति, सिँचाइ सुविधा र कृषि उत्पादनको बजार व्यवस्थापनलगायत माग अघि सारेको छ ।

सञ्जालका अनुसार कृषि क्षेत्र देशको अर्थतन्त्र, खाद्य सुरक्षा, उद्यमशीलता, रोजगारी र आम नागरिकको जीविकोपार्जनको महत्वपूर्ण आधार हो । तर, कृषि क्षेत्रमा दिनरात मेहनत गर्ने किसानका समस्या तथा समग्र कृषि क्षेत्रका चुनौतीप्रति सरकारले पर्याप्त ध्यान नदिएको सञ्जालको भनाइ छ ।

किसानका समस्या, दुःख र पीडा विभिन्न माध्यमबाट सरकारसमक्ष प्रस्तुत गर्दै आए पनि सरकारी नीति, कार्यक्रम र कार्यशैलीका कारण समस्या थप जटिल बन्दै गएको सञ्जालले जनाएको छ । यसले नेपालको कृषि प्रणालीलाई गम्भीर संकटतर्फ धकेलिरहेको र किसानको हक, अधिकार तथा पेशागत सुरक्षासमेत कमजोर हुँदै गएको भनाई छ ।

कृषि सामग्रीको मूल्यवृद्धि नियन्त्रणदेखि बजार सुनिश्चिततासम्म माग
सञ्जालले कृषि उत्पादनमा प्रयोग हुने बीउ, मल, विषादी, कृषि औजार, उपकरण, इन्धन, विद्युत् तथा अन्य आवश्यक सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै मूल्य नियन्त्रण र समायोजन गरी उत्पादन लागत घटाउन माग गरेको छ ।

त्यस्तै, धानलगायत कृषि उपजको सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रभावकारी खरिद व्यवस्था गर्नुपर्ने, समर्थन मूल्यभन्दा कममा बिक्री गर्न बाध्य किसानलाई उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा कृषि उपजको बजार व्यवस्थापन, किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता तथा बिचौलियाका कारण किसानले भोग्नुपरेका समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

सञ्जालले कृषि क्षेत्रमा हुने प्राकृतिक विपद् तथा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण र किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ । बाढी, जंगली हात्ती, बँदेल तथा बाँदरलगायत वन्यजन्तुबाट किसानको बालीमा ठूलो क्षति भइरहेको भन्दै क्षतिको यथार्थ मूल्यांकन गरी तत्काल राहत दिनुपर्ने सञ्जालको भनाइ छ ।

सिँचाइ आयोजना समयमै सम्पन्न गर्न माग
सञ्जालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ । आयोजना ढिलाइ हुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित हुने र कृषि उत्पादन तथा उत्पादकत्वमा असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

आयोजनाको निर्माण कार्य अघि बढाउन, निश्चित समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न र निर्धारित समयमा किसानका खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने व्यवस्था गर्न सञ्जालले आग्रह गरेको छ ।

यसैगरी, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण, उखु उत्पादक किसानको समस्या समाधान तथा मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार र जीविकोपार्जन सुनिश्चित गर्न पनि माग गरिएको छ ।

सञ्जालका संयोजक डा। प्रेम दंगालले किसानका जायज मागलाई सरकारले बेवास्ता गरे देशभरका किसान संघ–संगठनलाई एकताबद्ध गरी चरणबद्ध तथा सशक्त देशव्यापी आन्दोलन सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

सञ्जालले किसानका मागलाई पुनः सरकारसमक्ष प्रस्तुत गर्दै तत्काल र प्रभावकारी सम्बोधनका लागि जोडदार माग गरेको जनाएको छ ।