संस्थागत विद्यालयका शिक्षक-कर्मचारीलाई नियुक्तिपत्रदेखि सामाजिक सुरक्षासम्मको व्यवस्था गर्न इस्टुको माग

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) ले संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत हकहित, श्रम अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग विभिन्न माग अघि सारेको छ।

युनियनको राष्ट्रिय समितिले शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गर्दै पेसागत अधिकारको सुनिश्चितता, श्रम शोषणको अन्त्य, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा शिक्षा क्षेत्रको सुधारसम्बन्धी मागसहित स्मरणपत्र तयार पारेको छ। युनियनले सबै शिक्षक तथा कर्मचारीलाई अनिवार्य रूपमा नियुक्तिपत्र र खुला करार उपलब्ध गराउन, सरकारी न्यूनतम पारिश्रमिक, चाडपर्व खर्च तथा अन्य कानुनसम्मत सुविधा सुनिश्चित गर्न र मनपरी सेवाबाट हटाउने प्रवृत्ति अन्त्य गरी रोजगारीको सुरक्षा गर्न माग गरेको छ।

त्यस्तै, सबै शिक्षक तथा कर्मचारीलाई प्रचलित कानुनबमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा कोष (SSF) मा अनिवार्य आबद्ध गराउनुपर्ने माग पनि अघि सारेको छ।

युनियनले संस्थागत विद्यालयहरूको प्रभावकारी नियमनका लागि द्यालयहरूको नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न र श्रम अधिकार उल्लङ्घन गर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ। विद्यार्थी शुल्क, शिक्षकको पारिश्रमिक, कार्यसमय र कार्य वातावरणमा पारदर्शिता कायम गर्न तथा शिक्षकका गुनासा र श्रम विवाद समाधानका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, शिक्षक तथा कर्मचारीमाथि हुने श्रम शोषण, विभेद र अमर्यादित व्यवहार अन्त्य गरी श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने युनियनको माग छ। सरकार, विद्यालय व्यवस्थापन र ISTU बीच नियमित सामाजिक संवाद तथा विवाद समाधानको व्यवस्था गर्न र शिक्षा नीति, कानुन निर्माण तथा तालिमसम्बन्धी प्रक्रियामा युनियनको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।

सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने माग राख्दै युनियनले राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत वा कुल गार्हस्थ्य उत्पादन (GDP) को ६ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ। सार्वजनिक विद्यालयको पूर्वाधार, शिक्षक दरबन्दी, गुणस्तर र प्रविधिमा लगानी बढाउनुपर्ने तथा शिक्षकको व्यापारीकरण र अनियमित निजीकरण नियन्त्रण गरी शिक्षालाई सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वको क्षेत्रका रूपमा विकास गर्नुपर्ने माग गरिएको छ।

यसैगरी, विद्यालय शिक्षा ऐन निर्माण तथा कार्यान्वयनलाई सरोकारवालासँगको छलफल र संवादमार्फत अगाडि बढाउन युनियनले आग्रह गरेको छ।

शिक्षकको क्षमता विकासका विषयमा पनि युनियनले विशेष माग अघि सारेको छ। संस्थागत विद्यालयका शिक्षकलाई सरकारी तालिम तथा क्षमता विकासका कार्यक्रममा समान अवसर उपलब्ध गराउनुपर्ने र डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (AI) तथा नवीन शिक्षण विधिसम्बन्धी तालिम र पेसागत विकासका अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

युनियनले शिक्षा क्षेत्रमा समावेशी सहभागिता सुनिश्चित गर्न विशेष व्यवस्था गर्नुपर्ने विषयसमेत उठाएको छ। संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) वि.सं. २०६० साल माघ १ गते विधिवत् दर्ता भएको शिक्षकहरूको स्वतन्त्र पेसागत ट्रेड युनियन हो। राजनीतिक दलको झण्डा वा शुभेच्छुक संस्थाका रूपमा नभई संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत हकहित, श्रम अधिकार र सामाजिक सुरक्षाको पक्षमा क्रियाशील रहेको युनियनले जनाएको छ।

यस स्मरणपत्रमार्फत युनियनले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको अधिकार सुनिश्चित गर्दै समग्र शिक्षा क्षेत्रको सुधारका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।