अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
काठमाण्डौ । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ अर्थात् अर्को वर्षदेखि सञ्चालन गर्न तथा त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपालले कार्यक्रम सन् २०२७ देखि शुरु गर्ने समयसीमा, कार्यक्षेत्र तथा कार्यान्वयन विधि र जलवायु वित्त तथा अनुकूलनका पर्वतविशेष सूचक स्पष्ट गर्न प्रस्ताव गर्नेछ ।
कोप–३१ को अध्यक्षतामा पक्ष राष्ट्रहरूसँगको परामर्शपछि तयार गरिएको मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव छ । कार्यक्रमले वैज्ञानिक बुझाइ अभिवृद्धि, अनुकूलनका कार्य, उत्थानशीलता निर्माण तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।
बुँदा ३२ मा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवाद आयोजना गर्ने र त्यसलाई निरन्तरता दिने उल्लेख छ । मस्यौदामा समेटिएका यी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा पर्वतीय मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा भएको प्रगतिका रूपमा हेरिएको छ ।
यद्यपि, नेपाल र भूटानले गएको अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका विषय मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन् ।

