वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई नारायणगोपाल पुरस्कार प्रदान गरिने
काठमाण्डौ। वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी यस वर्षको स्वर सम्राट नारायणगोपाल पुरस्कारबाट सम्मानित हुनेहुनुभएको छ ।
विराटनगरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै नेपाली संगीत क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको कोषका अध्यक्ष दीपक केसीले बताउनु भयो । आगामी मंसिर १९ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा रायमाझीलाई सम्मान गरिनेछ ।
रेडियो नेपालमा लामो समय सेवा गरेका रायमाझीले नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्नुभएको छ । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएको छ । उहाँले एक दर्जनभन्दा बढी चलचित्रमा संगीत दिनुभएको छ।
पुरस्कार प्राप्त गर्ने भएपछि खुसी व्यक्त गर्दै रायमाझीले नारायणगोपालको नाममा स्थापित सम्मान प्राप्त गर्नु आफ्ना लागि गौरवको विषय भएको बताउनुभएको छ । यसले सांगीतिक यात्रामा थप हौसला मिल्नुका साथै जिम्मेवारीसमेत बढाएको उहाँको भनाइ छ ।
यस वर्ष गायन विधातर्फ गायक प्रकाश श्रेष्ठ र गीत रचनातर्फ गीतकार प्रमोद ढुंगानालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
स्वर सम्राट नारायणगोपालको स्मृतिमा स्थापित उक्त पुरस्कारमार्फत नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आइएको कोषका अध्यक्ष दीपक केसीले बताउनु भयो ।

