‘एमबीएमसी आइडियाएक्स २०२६’ सम्पन्न : टिम भिजन ह्याकरले जित्यो उपाधि
बिष्णु खनाल, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा आयोजित चौथो संस्करणको राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सम्पन्न भएको छ ।
‘इनोभेसन फर इम्प्याक्ट’ भन्ने मूल नाराका साथ असोज १६ देखि १८ गतेसम्म सञ्चालन भएको ४८ घण्टे ह्याकाथनमा २८ शैक्षिक संस्थाका ६७ जना सहभागी रहेको २० टोलीले विभिन्न सामाजिक तथा राष्ट्रिय समस्याका प्रविधिमा आधारित समाधान प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रारम्भिक चरणमा १६० टोलीले आवेदन दिएका थिए ।
ह्याकाथनमा जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तन गरी पाँच विषयगत क्षेत्रमा सहभागी टोलीले काम गरेका थिए । ४८ घण्टाको अवधिमा टोलीहरूले समस्या पहिचान, अनुसन्धान, सहकार्य र प्रोटोटाइप विकास गरी निर्णायकसमक्ष आफ्ना परियोजना प्रस्तुत गरेका थिए ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले समय निरन्तर परिवर्तनशील रहेको भन्दै विद्यार्थीको सोच, प्रविधि र नवप्रवर्तन पनि निरन्तर गतिशील हुनुपर्ने बताउनु भयो । उहाँले सहभागी विद्यार्थीहरूले ह्याकाथनमा प्रवेश गर्दा बोकेको ज्ञान र सोचभन्दा नयाँ अनुभव र उपलब्धि लिएर फर्किएको उल्लेख गर्दै प्राप्त ज्ञान तथा सीपलाई व्यक्तिगत जीवनमा मात्र नभई समुदाय, देश र विश्वस्तरमा प्रयोग गर्न आग्रह गर्नुभयो । पाण्डेले संसारका धेरै ठूला अनुसन्धान र उपलब्धि साना स्थानबाट सुरु भएको उल्लेख गर्दै एमबीएमसीमा विकसित भएका विचार पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुन सक्ने बताउनु भयो ।
उहाँले सिर्जनशीलता र अनुशासन एकअर्काका परिपूरक भएको उल्लेख गर्दै अनुशासनबिना सिर्जनशीलता प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताउनु भयो । सहभागी युवाहरूले आफ्नो सिर्जनशीलतालाई उत्पादनशील काममा परिणत गर्दै समाजलाई नयाँ समाधान दिनुपर्ने उहाँको भनाइ थियो। पाण्डेले ह्याकाथनमा प्रस्तुत भएका २० टोलीका विचारले भविष्यमा उद्यम, रोजगारी तथा नयाँ व्यवसायको बाटो खोल्न सक्ने बताउनु भयो । हरेक घटना र समस्याले नयाँ कुरा सिकाउने उल्लेख गर्दै उहाँले हालैका विपद्का घटनाबाट समेत पर्यटन, पूर्वाधार र व्यवस्थापनका क्षेत्रमा नयाँ सिकाइ लिनुपर्ने धारणा राख्नु भयो ।
त्यस्तै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले आइडियाएक्समा सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिँदै कलेजले आयोजना गरेको चौथो संस्करणप्रति विश्वास गरेर तीन दिनसम्म कलेज परिसरमा बसेर सक्रिय सहभागिता जनाएकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले प्रतियोगितामा जित–हार स्वाभाविक भए पनि सहभागी भएर नवीन विचार प्रस्तुत गर्नु नै ठूलो उपलब्धि भएको बताउनु भयो । सहभागी २० वटै टोलीलाई बधाई दिँदै उहाँले ह्याकाथनमा प्राप्त अनुभव र निर्णायकबाट पाएको प्रतिक्रियाले विद्यार्थीको आगामी करियर यात्रामा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभयो । डा. अधिकारीले आइडियाएक्समा प्रस्तुत भएका विचारहरू प्रतियोगितामै सीमित नराखी बजार, उद्योग तथा उद्यमशीलतासँग जोडिनुपर्नेमा जोड दिनुभयो । सहभागी टोलीका विचार भविष्यमा उद्योगमा प्रयोग भएको, उद्यममा परिणत भएको वा रोजगारी सिर्जना गरेको सुन्न पाउनु नै कलेजका लागि सबैभन्दा ठूलो खुसी हुने उहाँको भनाइ थियो ।
त्यस्तै, कलेजका सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले आइडियाएक्सको मुख्य उद्देश्य विद्यार्थी, कलेज, समुदाय र सरोकारवालाबीच सहकार्य विकास गर्नुका साथै विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नु रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई कार्यक्रम सञ्चालनको जिम्मेवारी दिँदा उनीहरूले कक्षाकोठामा सिकाइभन्दा बाहिरका व्यावहारिक ज्ञान, नेतृत्व, सहकार्य र व्यवस्थापनका सीप सिक्ने बताउनुभयो। विद्यार्थीले नै कार्यक्रमको विभिन्न पक्षमा नेतृत्व गरेको उल्लेख गर्दै उहाँले पूर्वविद्यार्थी, विद्यार्थी परिषद् तथा विभिन्न क्लबका सदस्यले समेत कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो।
उहाँले प्रतियोगितामा सीमित टोलीले मात्र पुरस्कार पाए पनि कार्यक्रममा सहभागी हुने अवसर आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। आइडियाएक्सलाई चौथो संस्करणसम्म ल्याउँदा अघिल्ला संस्करणबाट प्राप्त सिकाइलाई परिष्कृत गर्दै कार्यक्रमलाई थप व्यवस्थित बनाइएको पनि श्रेष्ठले बताउनुभयो। श्रेष्ठले आइडियाएक्सबाट प्रस्तुत भएका विचारको दिगोपना नै मुख्य चुनौती रहेको बताउनुभयो। प्रतियोगिता सकिएसँगै विचारहरू हराएर जान नहुने भन्दै उहाँले ती परियोजनालाई समुदाय र राष्ट्रिय समस्याको समाधानसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
समापन कार्यक्रममा आइडियाएक्सका तीन दिनका गतिविधि समेटेर बुलेटिनसमेत प्रकाशन गरिएको थियो । प्रतियोगिताका समग्र गतिविधिहरू समेटिएको इ(बुलेटिनको औपचारिक अनावरण तथा वितरण गरिएको थियो ।
समापन समारोहमा बोल्ने वक्ताहरूले तीन दिनको अवधिमा सहभागी विद्यार्थीले ज्ञान र सीप मात्र हासिल नगरी सहकार्य, समस्या पहिचान, समय व्यवस्थापन, प्रस्तुतीकरण तथा निर्णय क्षमतामा समेत अनुभव हासिल गरेको उल्लेख गरे । वक्ताहरूले सिर्जनशीलता र अनुशासनलाई नवप्रवर्तनको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै नयाँ विचारलाई व्यवहारमा उतार्न निरन्तर प्रयास आवश्यक रहेको बताए। उनीहरूले ह्याकाथनमा प्रस्तुत भएका विचारहरू प्रतियोगिता सकिएसँगै सीमित हुन नहुने र समुदाय तथा राष्ट्रका वास्तविक समस्या समाधानमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
समापन समारोहमा निर्णायक मण्डलका तर्फबाट बोख्दै निर्णायकले यस वर्षको मूल्यांकन प्रक्रियामा डिजिटल प्रणाली प्रयोग गरिएको र पाँच जना निर्णायकले दिएको अंक वास्तविक समयमा अभिलेख गरिएको जानकारी दिए । एकपटक अंक पठाइसकेपछि त्यसमा परिवर्तन गर्न नमिल्ने भएकाले मूल्यांकन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने प्रयास गरिएको भनाइ थियो ।
‘इको बि’ बन्यो ग्रान्ड विजेता :
टिम ‘भिजन ह्याकर्स, इटहरीको टोलीले प्रस्तुत गरेको ‘इको बि ’ परियोजना एमबीएमसी आइडियाएक्स २०२६ को ग्रान्ड विजेता घोषित भयो। विजेता टोलीलाई विभिन्न प्रायोजक तथा सहयोगी संस्थाबाट पुरस्कार, गिफ्ट ह्याम्पर, डिस्काउन्ट भौचर तथा अन्य सुविधा प्रदान गरिएको थियो ।
‘एमबीएमसी आइडियाएक्स २०२६’ का विजेताहरू :
प्रतियोगितामा विभिन्न ५ वटा ट्र्याकरथिम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू र ग्रान्ड विनर घोषित भएका छन्
जलवायु परिवर्तन विधामा टिम ‘बिल्डाकार इनोभेसन’ ले ‘खादमित्र’ परियोजनाका लागि विजेता बनेको छ।
पर्यटन विधामा टिम ‘पमेलो’ विजेता घोषित भयो।
ई–गभर्नेन्स विधामा टिम ‘फोरएनएफ’को ‘भाडा’ परियोजनाले विजेता हासिल गर्यो।
त्यस्तै स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा विधामा टिम ‘भागाबन्ड’ विजेता बन्यो।
फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तन विधामा टिम ‘फिन्टेस्ट’ को परियोजना विजेता घोषित भयो।
कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीका अनुसार आइडियाएक्समा १६० टोलीको सहभागिता रुचि देखिए पनि अन्तिम चरणमा २० टोली छनोट भएका थिए । सहभागीले ४८ घण्टामा समस्या पहिचान, प्रोटोटाइप विकास र निर्णायकसमक्ष प्रस्तुतीकरण गर्ने अवसर पाएका थिए । उहाँका अनुसार ह्याकाथनमा १० जना मेन्टरले सहभागी टोलीलाई मार्गदर्शन गरेका थिए भने पाँच जना निर्णायकले परियोजनाको मूल्यांकन गरेका थिए । प्रविधि, बैंकिङ, लेखापरीक्षण तथा वित्त, शिक्षा र सार्वजनिक क्षेत्रका अनुभवी व्यक्तिहरू कार्यक्रममा संलग्न थिए ।
आयोजक मदन भण्डारी मेमोरियल कलेजले आइडियाएक्सलाई विद्यार्थीको प्रतिस्पर्धामात्र नभई विद्यार्थी, कलेज, उद्योग, समुदाय र लगानीकर्ताबीच सहकार्य गराउने मञ्चका रूपमा अघि बढाउने जनाएको छ । कलेजका अनुसार आइडियाएक्स सुरुमा आदिवासी भाषा तथा सांस्कृतिक सम्पदा संरक्षणमा केन्द्रित रहे पनि पछिल्ला संस्करणमा वातावरण, स्वास्थ्य, कृषि, पर्यटन, साइबर सुरक्षा र वित्तीय प्रविधिसम्म विस्तार हुँदै राष्ट्रियस्तरको ह्याकाथनका रूपमा विकसित भएको हो ।
समापन समारोहमा सहभागी विद्यार्थी, निर्णायक, मेन्टर, प्रायोजक, आयोजक, स्वयंसेवक, शिक्षक तथा कर्मचारीलाई धन्यवाद दिँदै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको एमबीएमसी आइडियाएक्स २०२६ ले विद्यार्थीका नवीन विचारलाई प्रविधि, उद्यमशीलता र सामाजिक समस्याको समाधानसँग जोड्ने प्रयासलाई निरन्तरता दिएको छ ।

