आज पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस तथा बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

यसैगरी, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र तथा देशका अधिकांश तराई भूभागमा भने आंशिक बदली रहने महाशाखाको अनुमान छ।

तराई क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।