मदन भण्डारी कलेजमा भोलीदेखि चौथो संस्करणको एमबीएमसी आइडियाएक्स हुँदै

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा भोलीदेखि असोज १८ गतेसम्म एमबीएमसी आइडियाएक्स २०२६ आयोजना हुँदै छ ।

 ‘इनोभेसन फर इम्प्याक्ट’ मूल नाराका साथ आयोजना हुने ४८ घण्टे ह्याकाथनमा विद्यार्थी टोलीले नेपालका विभिन्न समस्याको प्रविधिमा आधारित समाधान खोज्नेछन्।

आयोजकका अनुसार ह्याकाथनका लागि १६० वटा टोलीले दर्ता गरेका थिए। भदौ २१ देखि २८ गतेसम्म भएको अनलाइन मूल्यांकनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका छन्। फाइनल चरणमा २८ शैक्षिक संस्थाका ६७ जना प्रतिभागी सहभागी हुनेछन्।

यस वर्षको ह्याकाथन पाँच विषयगत क्षेत्रमा केन्द्रित हुनेछ। जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तनलाई मुख्य ट्र्याक बनाइएको छ।

प्रतियोगितामा सहभागी टोलीले विपद् जोखिमबारे सचेतना, यात्रा सूचना, सार्वजनिक सेवामा सहज पहुँच, सडक सुरक्षा तथा समावेशी डिजिटल वित्तलगायत क्षेत्रमा काम गर्दै ४८ घण्टाभित्र कार्यशील प्रोटोटाइप तयार गरी प्रस्तुत गर्नुपर्नेछ।

कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीका अनुसार आइडियाएक्स विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्ने उद्देश्यले सुरु गरिएको मञ्च हो। आदिवासी भाषा संरक्षणबाट सुरु भएको कार्यक्रम अहिले राष्ट्रिय मञ्चका रूपमा विकसित भएको उहाँको भनाइ छ।

आइडियाएक्स सुरुमा आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित ह्याकाथनका रूपमा सुरु भएको थियो। पछिल्ला संस्करणमा वातावरण, स्वास्थ्य, कृषि, पर्यटन, साइबर सुरक्षा र वित्तीय प्रविधिजस्ता क्षेत्रसमेत समेटिँदै आएको छ।

कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीका अनुसार यसपटक १६० दर्ताबाट २० टोली छनोट हुनु प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तरको संकेत हो। सहभागीले ४८ घण्टामा समस्या पहिचान, प्रोटोटाइप निर्माण र निर्णायकसमक्ष प्रस्तुति दिने अनुभव प्राप्त गर्ने उहाँले बताउनुभयो।

ह्याकाथनमा १० जना मेन्टरले टोलीलाई मार्गदर्शन गर्नेछन् भने ५ जना निर्णायकले अन्तिम परियोजनाको मूल्यांकन गर्नेछन्। प्रविधि, बैंकिङ, लेखापरीक्षण तथा वित्त, शिक्षण र सार्वजनिक क्षेत्रका अनुभवी व्यक्तिहरू प्रक्रियामा सहभागी हुने आयोजकले जनाएको छ।

असोज १६ देखि १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा २० फाइनलिस्ट टोली, ६७ प्रतिभागी र २८ शैक्षिक संस्थाको सहभागिता रहनेछ।