शिक्षा स्वास्थ्य समितिले पनि माग्यो टेरामक्स खरिदको कागजात
काठमाण्डौ । सार्वजनिक लेखा समितिपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद विषयमा हात हालेको छ ।
यसअघि सार्वजनिक लेखा समितिले २०७२ सालमा सुरु भएको खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै अनियमितता भएको आशंका गरेको अवस्थामा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय क्षेत्राधिकार भएको शिक्षा समितिले पनि त्यसबारे चासो जनाएको हो ।
समितिले आज (बिहीबार) सञ्चार मन्त्री रेखा शर्मा र सचिव राकृष्ण सुवेदीसँग खरिदका सम्बन्धमा जानकारी लिएको छ । जानकारी लिएपछि खरिद प्रक्रियामा गडबडी रहेको निष्कर्ष निकाल्दै समितिले त्यससँग सम्बद्ध सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिका सभापति भानुभक्त जोशीले खरिदसँग सम्बन्धित कागजात पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
समितिले एमडिएमस प्रविधि खरिदसँग सम्बन्धित कागजात पनि पेश गर्न भनेको छ । फोन ट्यापिङ गर्ने टेरामक्स खरिदका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ३ अर्ब खर्चिन लागेको छ। त्यसका लागि प्राधिकरणले अहिलेसम्म ५३ करोड भुक्तानी गरिसकेको छ । नेपालमा दिनदिनै भ्याइस कल घटेर डाटा प्रयोग हुन लागेको सन्दर्भमा टेरामक्स खरिदमाथि विज्ञहरुले प्रश्न उठाउँदै आएका छन् ।
आजको बैठकमा सचिव सुवेदीले पनि खरिद प्रक्रियामा प्रारम्भिक गडबडी देखिएको बताउँदै भुक्तानी नदिन निर्देशन दिइएको बताउनुभयो ।
मन्त्री शर्माले अख्तियारतर्फ संकेत गर्दै खरिदका सम्बन्धमा प्रश्न उठेपछि सम्बन्धित निकायले छानबिन गरिरहेको बतायनुभयो । उहाँले आफ्नो मन्त्रालयले छानबिन र कारबाही गर्ने अधिकार नभएको जिकिर गर्नुभयो ।
सांसद सुमना श्रेष्ठले टेरामक्स खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै समितिले गम्भीरता पूर्वक लिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले खरिद प्रक्रियामा अनियमिता भएको पर्याप्त प्रमाण आइसकेकाले समितिले गम्भीरता पूर्वक लिनुपर्ने पनि बताउनुभएको छ ।