संयुक्त राष्ट्रसङ्घमा ट्रम्पको सम्बोधन : इरानलाई ‘ध्वस्त पारिदिने’ चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्नेबारे आफूले ठूलो निर्णयको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।

उहाँले इरान द्वन्द्व समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ । उच्चस्तरीय कूटनीति वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो । न्यूयोर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एक जना सदस्य समेत उपस्थित रहेका थिए ।

राष्ट्रसङ्घीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराधविरुद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो । गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ ।

ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरुन्तै हुनेमा आफू विश्वस्त रहेको दाबी पनि गर्नुभएको बीबीसीले जनाएको छ ।