एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि सदस्यहरूले धारणा राख्ने

काठमाण्डौ । एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने भएका छन् ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार बैठकको दोस्रो दिनसम्म ११८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरूले धारणा राख्ने क्रम पूरा गर्ने तयारी छ ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा पार्टीका विभिन्न नौवटा एजेन्डामाथि छलफल भइरहेको छ।

आज सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी छ ।

एमालेको जारी बैठकमा केन्द्रीय सदस्य मनोनयनका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका एजेन्डामाथि पनि छलफल भइरहेको छ ।