न्यूनचापीय प्रणाली थप शक्तिशाली हुँदै नेपालतर्फ
एजेन्सी । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने क्रममा रहेकाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा वर्षाको गतिविधि बढ्ने भएको छ।
मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुनसक्ने जनाएको छ। तीन दिनको अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिमसमेत बढ्ने देखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसम तथा विपद् व्यवस्थापनसम्बन्धी निकायले नागरिकलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी देखिनेछ। ती प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कर्णालीका केही भूभागमा भीषण वर्षा हुनसक्ने आकलन गरिएको छ। देशका अधिकांश स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
सम्भावित वर्षा र त्यसबाट निम्तिन सक्ने विपद्को जोखिमलाई ध्यानमा राख्दै विभागले मधेसबाहेक ६ प्रदेशका ४२ जिल्लालाई ‘सुन्तला’ संकेतमा राखेको छ। गण्डकी प्रदेशका सबै ११ जिल्ला सुन्तला संकेतमा छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा, बाँके र बर्दियाबाहेक अधिकांश जिल्ला पनि यही संकेतमा परेका छन्।
यसैगरी ३५ जिल्लालाई ‘पहेँलो’ संकेत दिइएको छ। पहेँलो संकेतलाई वर्षा नहुने अवस्थाका रूपमा बुझ्न नहुने मौसमविद्हरूको भनाइ छ। ती क्षेत्रमा पनि वर्षाको सम्भावना रहने भएकाले मौसमको अवस्था हेरेर आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ।
पूर्वानुमानअनुसार कुनै निश्चित स्थान वा धेरै भूभागमा एकैपटक अत्यधिक वर्षाको सम्भावना बढेमा चेतावनीको स्तर थप बढाउन सकिने विभागले जनाएको छ। अहिले भने मौसमी प्रणालीको निरन्तर निगरानी भइरहेको छ।

