“शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ” : प्रा.डा. महानन्द चालिसे
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको शैक्षिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेले उच्च शिक्षालाई श्रम, उत्पादन र बजारसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रा.डा. चालिसेले त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ७८ प्रतिशत हिस्सा ओगटेको उल्लेख गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न त्रिविको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले विश्वका धेरै देशमा जाँदा पनि ‘त्रिभुवन विश्वविद्यालय’को आफ्नै विशिष्ट पहिचान र प्रतिष्ठा रहेको प्रस्ट पार्दै कलेजका विद्यार्थीहरूलाई त्रिविको ‘ब्राण्ड एम्बासडर’को रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।
शैक्षिक पाठ्यक्रम र कक्षाकोठाको सिकाइमा परिवर्तनको आवश्यकता डीन चालिसेले नेपालको पाठ्यक्रम वा सिलेबसमा ठूलो समस्या नरहेको तर त्यसलाई कक्षाकोठामा शिक्षकले गर्ने प्रस्तुतिकरण (Pedagogy) र सिकाइ शैलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए। ‘ उहाँले प्राविधिक ज्ञानका साथै मानवीय मूल्य र सामाजिक सद्भाव पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक जीवनमा जोडिन आह्वान गर्दै प्रा.डा. चालिसेले श्रमको सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो । “पढ्दै गर्दा फुर्सदको समयमा सानोतिनो काम गर्न वा स्वरोजगार बन्न हिचकिचाउनु हुँदैन। कामलाई सम्मान गर्ने संस्कृति विकास गर्नुपर्छ।” उहाँले अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई सानै उमेरदेखि आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रा.डा. चालिसेले करिब २५ वर्षअघि विभिन्न आरोह-अरोह पार गर्दै स्वर्गीय जननेता मदन भण्डारीको नाममा यो कलेज स्थापना गरिएको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्नुभयो । विचार र राजनीतिक आस्थाभन्दा माथि सबै जातजाति, वर्ग र विचारका विद्यार्थीहरूलाई समेट्न सक्ने थलोको रूपमा यो कलेज विकसित भएको उहाँले बताउनुभयो ।

