मदन भण्डारी कलेजमा शैक्षिक अभिमुखीकरण कार्यक्रम : गुणस्तरीय शिक्षा र सीप विकासमा जोड
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले नवआगन्तुक विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
आज कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेको प्रमुख आतिथ्यता रहेको थियो। साथै मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन डा. चिरञ्जीवी आचार्य, केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख डा. धीरज केदार पाण्डेलगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि प्रा.डा. महानन्द चालिसेले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै विश्वविद्यालयले देशको करिब ७८ प्रतिशत उच्च शिक्षाको भार वहन गरिरहेको बताउनुभयो। उहाँले शिक्षालाई रोजगारी, उत्पादन र श्रम बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै काम गर्ने संस्कृतिको विकास गर्न आग्रह गर्नुभयो। “अबको युग ज्ञानको अन्तरविषयगत प्रयोगको युग हो। पढाइसँगै सीप, अनुभव र कार्यसंस्कृति पनि उत्तिकै आवश्यक छ,” उहाँले बताउनुभयो।
सहायक डिन डा. चिरञ्जीवी आचार्यले कलेज शिक्षा पाठ्यक्रममा मात्र सीमित नभई अन्तरसम्बन्ध, सहकार्य र सामाजिक मूल्य सिक्ने महत्वपूर्ण अवसर भएको बताउनु भयो। उहाँले विद्यार्थीलाई कक्षाकोठामा सिकाइएका विषयवस्तु गहिरिएर बुझ्न, प्रश्न गर्न र उपलब्ध अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख डा. धीरज केदार पाण्डेले बीसीए र बीएससी सीएसआईटी कार्यक्रमबीचको भिन्नता स्पष्ट पार्दै विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै विशेषज्ञता रोज्न हतार नगर्न सुझाव दिनुभयो। उहाँले सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्युटिङ, डेटा साइन्स, कृत्रिम बुद्धिमत्ता, नेटवर्किङलगायतका अनेक अवसर रहेको उल्लेख गर्दै पहिलो चरणमा आधारभूत ज्ञानलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरूले सही शैक्षिक संस्था छनोट गरेको उल्लेख गर्दै कलेज देशका उत्कृष्ट सामुदायिक कलेजमध्ये एक रहेको बताउनु भयो। उहाँले विद्यार्थीलाई नियमित कक्षामा उपस्थित हुन, अनुशासन पालना गर्न, जिज्ञासु र सक्रिय बन्न तथा कलेजका अवसरहरूको अधिकतम सदुपयोग गर्न आग्रह गर्नुभयो।
अभिमुखीकरण कार्यक्रममा नवआगन्तुक विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विभिन्न संकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम, अवसर तथा भावी शैक्षिक यात्राबारे जानकारी प्रदान गरेको कलेजले जनाएको छ।

