ओमानले होर्मुज वार्ता स्थगित गरेपछि तेलको मूल्य १०७ डलर नाघ्यो

एजेन्सी।  ओमानले इरान र खाडी क्षेत्रका देशबिच होर्मुजको जलमार्गबाट हुने समुद्री आवागमन व्यवस्थापनबारे सोमबार हुने तय भएको वार्ता स्थगित गरेको छ।

केही क्षेत्रीय देशको अनुरोधमा इरान र ओमानले संयुक्त रूपमा वार्ता स्थगित गर्ने निर्णय गरेको इरानी विदेश मन्त्रालयका अधिकारी मोहम्मद अली बाकले बताएका छन्।

ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले सलालाहमा हुने भनिएको क्षेत्रीय बैठक रचनात्मक संवादका लागि उपयुक्त वातावरण बनाउन अर्को मितिसम्मका लागि स्थगित गरिएको बताए। क्षेत्रीय स्थिरता र दीर्घकालीन सहकार्यका लागि संवादलाई अघि बढाउन ओमान प्रतिबद्ध रहेको उनको भनाइ छ।

होर्मुजको भविष्यबारे इरान, ओमान र खाडी देशबिच केही सातादेखि छलफल हुँदै आएको थियो। विश्वको समुद्री तेल तथा ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण यो जलमार्गमा अहिले तनाव बढेपछि जहाज आवागमनमा जोखिम बढेको छ।

वार्ता स्थगित भएको खबरसँगै मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले सोमबार तेलको मूल्य बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य २.८ प्रतिशतले बढेर प्रति ब्यारेल १०७.५१ डलर पुगेको छ। अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि २.३ प्रतिशतले बढेर १०२.३२ डलर पुगेको छ।

यसैबिच, अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानमाथिको नाकाबन्दी कार्यान्वयन गराउन १०१ वटा व्यावसायिक जहाजलाई पुनः निर्देशित गरिएको जनाएको छ।

यसअघि साउदी अरबको महत्त्वपूर्ण तेल पाइपलाइनमा आक्रमण भएपछि त्यसको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो।

त्यस्तै, आइतबार होर्मुजको जलमार्गमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। यी घटनाले विश्वव्यापी ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ।