विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू
काठमाण्डाै । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरू गरेको छ ।
पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डस्तरबाटै सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका ७ वटा टोलीले आजदेखि भदौ ३० गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । कार्यदलअन्तर्गतका १२ वटा विषयगत समूहले सातै प्रदेशका २८ जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको २८ जिल्लाको भ्रमणपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रको वेबसाइटमार्फत समेत सुझाव सङ्कलन गरिनेछ । यो सम्पूर्ण प्रक्रिया तिहारअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ । सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ ।

