नेपाल तामाङ कलाकार संघद्वारा भोटेकोशी बाढीपीडितका लागि ९ लाख सहयोग घोषणा

काठमाडौं । नेपाल तामाङ कलाकार संघले गत भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाहरूमा भएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

संघका महासचिव खेम मोक्तानद्वारा जारी विज्ञप्तिमा बाढीपटक पीडित भएका परिवारलाई संस्थागत तथा व्यक्तिगत रूपमा राहत रकम सहयोग गर्ने घोषणा गरिएको छ। संघले संस्थागत रूपमा ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ भने, संघका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य तथा अन्य सहयोगी दाताहरूबाट स्वेच्छाले संकलित रकम ७ लाख ५० हजार थप गरी कुल ९ लाख रुपैयाँ राहत संकलन भएको जानकारी गराएको छ ।

बाढी तथा पहिराका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। संकलित रकम संस्थाको निर्णय अनुसार प्रभावित कलाकारहरूका परिवार तथा अति प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिनेछ।

आजको मितिदेखि संघद्वारा सञ्चालित राहत संकलन तथा आन्तरिक अभियान स्थगित गरिएको छ। साथै, यस मानवीय कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूलाई संघले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।