मदन भण्डारी कलेजमा एमबीएमसी ह्याकफेस्ट २०२६ सम्पन्न, ‘द केडीज’ विजेता
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) द्वारा आयोजित दुई दिवसीय आन्तरिक ह्याकाथन ‘एमबीएमसी ह्याकफेस्ट– भव्य रूपमा सम्पन्न भएको छ।
नवप्रवर्तन, प्रविधि तथा समस्या समाधानमा आधारित प्रतियोगिताको समापन समारोह कलेज परिसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, निर्णायक, मेन्टर, शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो। “सोच, नवप्रवर्तन र निर्माण” भन्ने नाराका साथ कलेजको सभाहलमा आयोजित यस प्रतियोगितामा विभिन्न स्ट्रिमका विद्यार्थीहरूको तर्फबाट १८ वटा समूहले उत्साहजनक सहभागिता जनाएका थिए।
समापन समारोहमा कलेज प्रमुख डा. बाबुराम अधिकारी, मदन भण्डारी मेमोरियल सेकेन्डरी स्कुलका प्रधानाध्यापक कमल न्यौपाने, विभिन्न विभागका संयोजक, शिक्षक तथा आयोजक समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन योगदान पुर्याउने निर्णायक तथा मेन्टरहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। आयोजक समितिले उनीहरूको मार्गदर्शन, समय र योगदानप्रति आभार व्यक्त गरेको थियो।
प्रतियोगिताको नतिजा घोषणा गर्दै निर्णायक मण्डलले सहभागी टोलीहरूको समस्या पहिचान, समाधानको प्रभावकारिता, तथ्याङ्कीय आधार, कार्यान्वयन सम्भाव्यता, व्यवसायिक सम्भावना तथा प्रस्तुतीकरण क्षमताका आधारमा मूल्याङ्कन गरिएको जानकारी दिएको थियो।
प्रतियोगितामा टिम डीबीजेड दोस्रो रनरअप घोषित भयो भने ह्याक डेभ प्रथम रनरअप बन्न सफल भयो। त्यसैगरी ‘४एनएफ’ ले उत्कृष्ट प्रस्तुतीकरण पुरस्कार प्राप्त गर्यो। प्रतियोगिताको उपाधि भने टिम ‘द केडीज ले जित्दै एमबीएमसी ह्याकफेस्ट २०२६ को ग्रान्ड विनर बन्न सफल भएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै कलेज प्रमुख डा. बाबुराम अधिकारीले विजेता टोलीलाई बधाई दिँदै प्रतियोगितामा सहभागी सबै विद्यार्थी, निर्णायक, मेन्टर, स्वयंसेवक तथा आयोजक समितिप्रति धन्यवाद व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तन र समस्या समाधान क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
एमबीएमसीले प्रविधि र नवप्रवर्तनको क्षेत्रमा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरेको ह्याकफेस्ट २०२६ ले युवा प्रतिभाहरूलाई आफ्ना नवीन सोच र समाधान प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।

