पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । आज दिउँसो हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
त्यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

